४६ वर्षको उमेरमा जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिति जिन्टा

४६ वर्षको उमेरमा जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिति जिन्टा

२ मंसिर, काठमाडौं । 
बलिउड नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । 

४६ वर्षीया अभिनेत्री सरोगेसीका माध्यमबाट आमा बनेकी हुन् । प्रितिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा श्रीमानसँगको फोटोसहित एक विशेष नोट सेयर गरेर यसबारे जानकारी दिएकी हुन् । प्रितिले आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छिन् ।​ 

‘म सबैसँग आजको सबैभन्दा ठूलो खुशीको खबर बाँड्न चाहन्छु । जीन र म धेरै खुशी छौं र हाम्रो हृदय आभार तथा प्रेमले भरिएको छ । किनकी हामी आफ्नो जुम्ल्याहा बच्चाहरु जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गर्दैछौं’, उनले लेखेकी छन् ।

प्रीति जिन्टाले आफ्नो पोस्टमा थपिन्, ‘हामी आफ्नो जीवनको नयाँ अध्यायका लागि निकै उत्साहित छौं । हाम्रो यो अभूतपूर्व यात्रामा सहयात्री बनेकोमा सबै डाक्टर, नर्स र हाम्रो सरोगेटलाई मनैदेखि धन्यवाद प्रदान गर्न चाहन्छौं । सबैलाई धेरै माया । ’

प्रितीले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फेब्रुअरीमा लसएञ्जल्समा एक निजी समारोहमा विवाह गरेकी थिइन् । 

प्रितीले सन् १९९८ मा रिलिज फिल्म ‘दिल से’बाट बलिउडमा पाइला चालेकी थिइन् ।