आर्यन खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

आर्यन खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

ऐजेन्सी, १२ कार्तिक । 
लागु औषध मामिलामा मुम्बईको आर्थर रोड जेलमा रहेका बलिउड नायक शाहरुख खानका छोराआर्यन खानले पक्राउ परेको २६ औँ दिनमा जमानत पाएका छन् ।

आर्यन खानलाई जमानतमा रिहा गर्न मुम्बइको उच्च न्यायलयले आदेश दिएको हो । मुम्बईको उच्च न्यायलयले बिहिबार बेलुका साढे ४ बजे यो फैसला सुनाएको हो ।

अदालतले आर्यनसँगै मुनमुन धमीचा र अरबाज मर्चेन्टलाई पनि धरौटीमा छाड्ने आदेश दिएको छ । यद्यपि अदालतको आदेशको प्रतिलिपि प्राप्त नगरेका कारण तीनै जना शुक्रबार अथवा शनिबारसम्म रिहा हुने बताइएको छ ।

मंगलबारदेखि मुम्बईको उच्च न्यायलयमा यो बिषयमा बहस भएको थियो।

आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले एनसीबीको तर्फबाट वकालत गरेका थिए । सिंहको तर्क थियो, आर्यनलाई धरौटीमा रिहा गरियो भने प्रमाणहरुसँग छेडछाड हुन सक्छ । आर्यन केही वर्षदेखि लागु औषध लिइरहेको र उनले नै अरूलाई पनि लागु औषध उपलब्ध गराउने गरेको पनि सिंहको भनाइ थियो । आर्यनको तर्फबाट वकिल मुकुल रोहतगीले बहस गरेका थिए । उनले, आर्यनको साथबाट ड्रग्स बरामद नभएको भन्दै उनलाई पक्राउ गर्नु गलत भएको बताएका थिए।

आर्यनसहित आठ व्यक्ति लाई अक्टुबर २ तारिखमा एनसीबीले मुम्बइको एक क्रुज पार्टीमा सहभागी भएको समयमा पक्राउ गरेको थियो ।