हाजिरी लगाउन एनसिबी पुगे जमानतमा छुटेका आर्यन

हाजिरी लगाउन एनसिबी पुगे जमानतमा छुटेका आर्यन

काठमाडौं, २१ कार्तिक । 
ड्रग्स सेवनमा मुछिएर गत साता जमानतमा रिहा भएका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन शुक्रबार पहिलोपटक नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसिबी० मा हाजिर हुन गएका छन्।

क्रुजमा भएको लागुऔषध सेवनमा मुछिएर पक्राउ परेका आर्यन २५ दिनभन्दा बढी हिरासतमा रहेर जमानतमा रिहा भएका थिए। उनलाई जमानत दिँदा १४ वटा सर्त राखिएको थियो जसमध्ये एउटा सर्त प्रत्येक साता एनसिबी हाजिर हुन जाने पनि हो। त्यही सर्तअनुसार उनी शुक्रबार दिउँसो एनसिबी कार्यालयमा आफैं उपस्थित भएका हुन्।

आर्यनलाई अदालतले राखेका सर्तअनुसार उनी आर्यन अदालतको अनुमतिबिना विदेश जान पाउने छैनन्। उनले आफ्नो पासपोर्ट विशेष अदालतमा बुझाउनुपर्नेछ।

त्यस्तै, आर्यनले आफ्नो मुद्दासँग जोडिएका अरू आरोपीसँग सम्पर्क गर्न पाउने छैनन्। विशेष अदालतको कामकारबाही प्रभावित गर्ने प्रयास गर्न पनि पाउने छैनन्। उनले कुनै पनि सञ्चारमाध्यममा अभिव्यक्ति दिन पाउने छैनन्। उनले मुम्बई छाडेर बाहिर कतै जानुपरे मुद्दासँग सम्बन्धित अधिकारीहरूलाई जानकारी गराउनुपर्नेछ। अदालतको सुनवाइमा उपस्थित हुनुपर्नेछ। आवश्यक परेका खण्डमा जाँचमा सहयोग गर्नुपर्नेछ।

यी सर्तमध्ये कुनै एक मात्र उल्लंघन गरे पनि उनको जमानत रद्द हुनेछ।

आर्यन एनसिबी कार्यालयमा पुग्नेबित्तिकै उनलाई फोटोग्राफरहरूले घेरेका थिए। शाहरूखका बडिगार्ड रविले आर्यनलाई फोटोग्रोफरहरूको घेराबाट फुत्काएर एनसिबी कार्यालयभित्र छिराएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

नार्कोटिक्स कन्ट्रोल ब्युरोले ३ अक्टोबरमा मुम्बईबाट गोवा जाँदै गरेको एउटा समुद्री जहाजबाट आठ जनालाई पक्राउ गरेको थियो। तिनैमध्ये आर्यन एक थिए। लागुऔषध सेवन गरेको भनी पक्राउ गरिए पनि आर्यनको साथबाट कुनै किसिमको लागुऔषध बरामद भएको थिएन।

आर्यन लागुपदार्थ सेवन र खरिदमा मात्र संलग्न मात्र नभएर उनी अन्तर्राष्ट्रिय रूपले लागुपदार्थ ओसारपसार गर्ने गिरोहमा समेत संलग्न रहेको एनसिबीको आरोप छ ।  लागुपदार्थ ओसारपसार गर्ने अन्तर्राष्ट्रिय गिरोहमा संलग्न एक विदेशी नागरिकसँग आर्यन सम्पर्कमा रहेको एनसिबीले आरोप लगाएको छ।