अण्डरवेयरको विज्ञापनमा खेलेपछि विक्की–रश्मिका बने ट्रोलको शिकार

अण्डरवेयरको विज्ञापनमा खेलेपछि विक्की–रश्मिका बने ट्रोलको शिकार

काठमाडौं, १५ असोज । 
भारतमा कलाकारको ठूलो स्टरडम छ । भारतीय नायक नायिकाको अनौठो र रोचक फ्यानहरुको पनि कमि छैन् । सानो कुरालाई लिएर समेत नामचलेका कलाकार ट्रोलको शिकार बनेका छन् । अझ भनौँ बलिउड जगतका यस्ता थुप्रै कलाकार छन् जो विज्ञापनमा फिचर भएका कारण ट्रोल भएका छन् । 

पछिल्ला केही हप्तामा थुप्रै बलिउड सेलिब्रिटी ट्रोलको निशानमा परे। सुरुमा ऋतिक रोशन र कट्रिना कैफको जोमेटो विज्ञापनका लागि विवाद भयो । त्यसपछि आलिया भट्टको विज्ञापनमा पनि प्रयोगकर्ताले धेरैथरी भने । अभिनेता अमिताभ बच्चन समेत गुटका को विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिए । 

अहिले भारतमा विक्की कौशल र रश्मिका मंदाना हालै सार्वजनिक भएको अन्डरवेयरको विज्ञापन चर्चामा छ । विक्की र रश्मिका दुबैलाई ट्वीटरका प्रयोगकर्ताले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् भने विभिन्न थरिका ट्रोलहरु बनाइएका छन् । 

विज्ञापनमा रश्मिका मंदाना एक योग प्रशिक्षकको भूमिकामा देखिएकी छिन् भने विक्की प्रशिक्षण लिन आएका हुन्छन् । रश्मिका विक्कीको अण्डरवियरको फित्ता डेटिस हेरिरहेकी छिन् । विज्ञापनको पहिलो भागमा रश्मिका विक्कीको अण्डरवियरको फित्ता हेर्न यति मुग्ध हुन्छिन् कि उनले गन्न नै बिर्सिन्छिन् । विज्ञापनको दोस्रो भागमा दराजको माथिल्लो भागबाट विक्की केही उठाउने कोसिस गर्छन् । त्यतिबेला उनको टिसर्ट माथि सर्छ र नायिकाको नजर विक्कीको अण्डरवियरको फित्तामा पुनः पर्छ । 

रश्मिका र विक्कीलाई धेरैले पैसाको लागि असुहाउदो विज्ञापनमा खेलेको भन्दै असन्तुष्टि जनाएका छन् भने कतिपयले दोहोरो अर्थ लगाएर ट्रोल बनाइरहेका छन् ।