‘सुपर डान्सर ४’ को सेटमा फर्किइन् शिल्पा

‘सुपर डान्सर ४’ को सेटमा फर्किइन् शिल्पा

काठमाडौं, २ भदौं । 
अश्लिल चलचित्र निर्माणको आरोपमा पति राज कुन्द्रा पक्राउ परेपछि डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ बाट ब्रेक लिएकी अभिनेत्री शिल्पा शेट्टी  सेटमा फर्किएकी छन् ।

कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टी पनि विवादमा तानिएकी थिइन्। विवादमा तानिएपछि उनले शोबाट ब्रेक लिएकी थिइन् । 

सन् २०१६ देखि नै यो शोमा निर्णायकको भूमिका निर्वाह गर्दै आएकी अभिनेत्री शिल्पा यसै साता प्रसारण हुने शोमा देखिने भएकी छन् । शिल्पा शोमा देखिने भएपछि फ्यान उत्साहित भएका छन् ।

शिल्पाको अनुपस्थितिमा शोमा संगीता बिजलानी, ज्याकी श्राफ, टेरेन्स लुइस, सोनाली बेन्द्रे, मौसमी चटर्जी र करिश्मा कपुर अतिथिका रुपमा सहभागी भएका थिए ।