पर्यटन प्रवर्द्धन गर्न सुदूरपश्चिममा तीन दिने 'साइकल यात्रा'

पर्यटन प्रवर्द्धन गर्न सुदूरपश्चिममा तीन दिने 'साइकल यात्रा'

२४ मंसिर,काठमाडौं । 
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि कैलालीमा 'सुदूरपश्चिम साइकल यात्रा' आयोजना हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार र फारवेस्टर्न राइडर्सको समन्वयमा आगामी पौष ३ गते देखि ५ गते सम्म तीन दिने ‘सुदूरपश्चिम साइकल यात्रा २०७८’ हुन लागेको हो ।

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै साइकल यात्राबारे जानकारी दिएको छ । सम्मेलनमा साइकल यात्राको तयारी भइरहेको जानकारी दिइएको थियो ।
  
तीन दिनसम्म चल्ने साइकल यात्रामा काठमाडौं, पोखरा, दाङ र भारतको उत्तर प्रदेश उत्तराखण्ड र पटनाबाट गरी एक सय पचाँसभन्दा बढि साइकल यात्रीहरू सहभागीताका लागि धनगढी आउने फारवेस्टर्न राइडर्सका अध्यक्ष भरतविक्रम शाहले जानकारी दिए ।  

"यात्राको पहिलो दिन प्रथम चरणमा स्थानीय साइकल यात्रीहरु र बाहिरबाट आएका साइकल यात्रीहरु धनगढी-गोदावरी(२० किलोमिटर) सम्म  पुग्ने कार्यक्रम तय भएको छ," इन्युजसँग भरतविक्रमले भने, "गोदावरीमा सानो विश्रामपछि खानीडाँडा पुँगेर पहिलो दिनको यात्रा टुङ्गिने छ ।" 

दोस्रो दिनको बिहान खानीडाँडादेखि बुडरसम्म साइकल यात्रा गरिने भरतविक्रमले जानकारी दिए । "साइकल यात्री बुडर पुगेपछि स्थानीय संस्कृति झल्किने सांस्कृति कार्यक्रम, प्रर्दशनी तथा पाँच किलोमिटरको दुरीमा साइकल रेस आयोजना गर्ने कार्यक्रम तय भएको छ," उनले भने

दोस्रो दिनको कार्यक्रम दिनभर नै बुडरमा चल्ने र तेस्रो दिन साइकल यात्रीहरु बुडरबाट फर्कने कार्यक्रम रहेको फारवेस्टर्न राइडर्सका अध्यक्ष भरतविक्रमले जानकारी दिए ।

नेपालका पहिलो पटक नेपाल र भारतबाट ठुलो संख्यमा साइकल यात्री ल्याएर कार्यक्रम आयोजना गर्न लागिएको फारवेस्टर्न राइडर्सका अध्यक्ष भरतविक्रमले  बताए ।

फारवेस्टर्न राइडर्सले साइकल यात्राको माध्यमबाट सुदुरपश्चिमको सुन्दरता चिनाउन तथा पर्यटन प्रवर्द्धनका लागि यसअघि पनि विभिन्न गतिविधीहरु गर्दै आइरहेको छ ।