विदेशी नियोगको सोधखोजपछि कलाकार संघले रोक्यो नयाँ सदस्यता र सिफारिस पत्र

विदेशी नियोगको सोधखोजपछि कलाकार संघले रोक्यो नयाँ सदस्यता र सिफारिस पत्र

२ मंसिर, काठमाडौं । 
चलचित्र कलाकारहरुको पेशागत छाता सङ्गठन नेपाल चलचित्र कलाकार संघले कलाकारलाई प्रदान गर्दै आएको सदस्यता तथा सदस्य कलाकारको निवेदन अनुसारको सिफारिस हाललाई स्थगित गर्ने निर्णय गरेको छ । 

संघका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत सो कुरा सार्वजनिक गरिएको हो । प्रेस विज्ञप्तिमा अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा मंगलबार बसेको संघको बैठकले शो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले सिफारिस पत्र दिएका केही सदस्यहरुको सम्बन्धमा विदेशी नियोगबाट सोधनी भएकोले कलाकारको गरिमालाई यथावत राख्न जरुरी भएको महसुस गर्दै नयाँ सदस्यताका लागि प्राप्त आवेदनमाथि छानबिन गर्ने र सोधनी भएका कलाकारहरुसँग पत्राचार गरी सत्यतथ्य पत्ता लाउने समेत बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । 

संघले कम्तिमा ५ वटा व्यवसायिक चलचित्रमा अनुबन्ध भएर काम गरेका कलाकारलाई साधारण सदस्य प्रदान गर्ने विधानमा उल्लेख गरिएको छ । केही सदस्यताको आवेदन सम्बन्धमा उजुरी परि बुझ्नु परेकाले संघले सदस्यताको बिषयमा छानबिन गर्न लागेको हो ।

यसैगरी निर्माण प्रदर्शन र कलाकारको पेशागत उत्थानका लागि चलचित्र क्षेत्रलाई चलायमान बनाउन एक दिवसीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।