ओस्कर्स वितरण समारोहमा विल स्मिथले मञ्चमै चढेर क्रिश रकलाई थप्पड हानेपछि

ओस्कर्स वितरण समारोहमा विल स्मिथले मञ्चमै चढेर क्रिश रकलाई थप्पड हानेपछि

१५ चैत, काठमाडौं ।  
ओस्कर्स पुरस्कार वितरण समारोहमा हलिउड अभिनेता विल स्मिथले कार्यक्रमको मञ्चमै चढेर प्रस्तोता क्रिश रकलाई थप्पड हानेको घटनाले संसारभर निकै चर्चा पाइरहेको छ।

कार्यक्रमको मञ्चबाट हास्य कलाकार क्रिश रकले अभिनेता स्मिथकी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेपछि उनले आफू बसिरहेको स्थानबाट उठेर गइ रकलाई थप्पड हानेका थिए। पिङ्केट स्मिथमा कपाल झर्ने एलोपेसिया भन्ने रोग देखिएपछि उनले कपाल मुडुलो बनाएको प्रति क्रिश रकले ठट्टा गरेका थिए।

त्यसपछि आफ्नो स्थानमा फर्केका उनले चिच्याउँदै 'मेरी श्रीमतीको नाम तिम्रो मुखले नलिनु' भन्दै आक्रोश पोखेका थिए । 

घटनापछि यो वर्षको उत्कृष्ट अभिनेताको पुरस्कार पाएका स्मिथले उपाधि स्वीकार गर्ने क्रममा भाषण गर्दा आँसु झार्दै माफी मागेका थिए।

किङ रिचर्ड भन्ने सिनेमामा ख्यातिप्राप्त टेनिस खेलाडीहरू भिनस र सेरेना विलियम्सको बाबुको भूमिका खेलेका स्मिथले भने, 'म एकेडेमीसँग र मनोनयनमा परेका अन्यप्रति माफी माग्न चाहन्छु।'