हलिउडले बेलायतमा सात सय मिलियन पाउन्ड लगानीमा फिल्म र टीभी स्टुडियो बनाउँदै

हलिउडले बेलायतमा सात सय मिलियन पाउन्ड लगानीमा फिल्म र टीभी स्टुडियो बनाउँदै

ऐजेन्सी, २१ साउन । 
विश्वभरको चलचित्र क्षेत्र कोरोना महामारीले धरासयी भइरहेका बेला हलिउडले भने बेलायतमा ठूलो लगानीमा फिल्म र टीभी स्टुडियो बनाउन जुटेको छ । 

बीबीसीका अनुसार हलिउडले बेलायतमा सात सय मिलियन पाउन्ड अर्थात् नेपाली एक खर्ब १५ अर्ब ८४ करोड ४६ लाख रूपैयाँ खर्चेर ‘वल्र्ड क्लास’ फिल्म र टिभी स्टुडियो बनाउने घोषणा गरेको छ ।

लस एन्जलसस्थित सनसेट स्टुडियो र एउटा लगानी फर्मले यूकेस्थित हार्टफोर्डसिरमा ९१ एकर जमिन १२० मिलियन पाउन्डमा किनिसकेको छ । निर्माणको अनुमति पाएसँगै ब्रोक्सबोर्नमा भवन निर्माण गरिनेछ । यसमा यूके सरकारको पनि हलिउडलाई पूर्ण समर्थन रहेको छ ।

बेलायती डिजिटल, संस्कृति, मिडिया र खेल राब्य सचिव ओलिभर डाउडेनले नयाँ स्टुडियोले बेलायतको फिल्म र टिभी उद्योगलाई महत्वपूर्ण योगदान गर्ने बताए । “बेलायती फिल्म कमिसनमार्फत् हामी स्थानीय अर्थव्यवस्था र विश्व स्तरीय रचनाहरूलाई बढावा दिन चाहन्छौँ,” उनले भने ।

लस एन्जलसस्थित स्टुडियोका मालिक र अपरेटर हडसन प्यासिफिक ब्ल्याकस्टोन कम्पनीसँग सहकार्य गरेर यो काम सुरु गर्न लागेका हुन् । उनीहरूले ‘ब्रक्सबोर्न’ लाई बेलायत र अन्तर्राष्ट्रिय प्रोड्क्सनको हब बनाउने योजना बनाएका छन् ।

यी कम्पनीहरूले स्थानीय अर्थव्यवस्थामा वार्षिक तीन सय मिलियन पाउन्ड योगदान पुग्ने र साढे चार हजार जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ ।