अस्कर कमिटीले माग्यो अवार्डका लागि नेपाली फिल्म

अस्कर कमिटीले माग्यो अवार्डका लागि नेपाली फिल्म

काठमाडौं, १९ असोज । 
९४औं संस्करणको ‘एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुल्ला गरेको छ । 

समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १९ गतेदेखि कात्तिक ४ गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको हो।

द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेसले सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा ९४औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिने जनाएको छ ।

अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, अघिल्लो वर्ष झैं यसपटक पनि महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका फिल्मले पनि अस्कारमा सहभागिता जनाउन पाउनेछन् ।

हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको ‘अस्कर अवार्ड’ कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो । यो वर्ष भने एक महिना मात्र पर सरेको छ अर्थात फेब्रुअरीमा हुँदै आएको अवार्ड मार्चमा हुनेछ ।

यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्महरू सिनेमा हलमा नलागी अनलाइन स्थापित व्यवसायिक स्ट्रिमिङ साइट वा भिडियो अन डिमाण्डमा आएका छन् भने तिनले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेशनल फिचर फिल्म कार्यकारी समिति रहेको छ ।