‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ सुन्दरीले प्रतिष्पर्धा गर्ने

‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ सुन्दरीले प्रतिष्पर्धा गर्ने

काठमाडौं, ६ कार्तिक । 
‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ सुन्दरीले प्रतिष्पर्धा गर्ने भएका छन् । 

उमंग क्रिएसनले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको बिहिबार साँझ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन गर्दै प्रतियोगी सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सुन्दरीहरुले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षालगायत विभिन्न सामाजिक मुद्धाका विषयमा बनाएका २ देखि ३ मिनेट अवधिको भिडियोसमेत प्रस्तुत गरिएको थियो ।

प्रतियोगीतामा १६ बाट अब शीर्ष १० सुन्दरी छानिनेछन् । छनौटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत आईएमई एपमा प्रतियोगीलाई प्राप्त भोटिङ हुनेछ । सोही एपबाट मिस ‘युनिभर्स नेपाल २०२१’को पिपुल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगीताको ग्राण्ड फिनालेको भिआईपी टिकट समेत प्राप्त गर्न सकिने आयोजकले कार्यक्रममा जानकारी दिए ।

प्रतियोगिताको ग्राण्ड फिनाले यही अक्टोबर ३० अर्थात कार्तिक १३ मा हुनेछ । 

प्रतियोगीताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने  छिन् ।