फेवा किनारमा नवराज र उज्ज्वलको गुञ्जन

फेवा किनारमा नवराज र उज्ज्वलको गुञ्जन

७ पुस, कास्की । 
बुधबारको छिपिँदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो। ‘नेपाल लिटरेचर फेस्टिभल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए। 

चिसो यामको पर्वाह नगरी उभिएरै पोखरेलीहरु कविता र गीतमा मुग्ध बने। गायक सागरको ‘तिमी खुसी त छौ नी भनन’ गीतबाट सुरु भएको कार्यक्रम झण्डै डेढ घण्टा चल्यो। सागरले आफ्नै गीत ‘मधुरो लालटिन’ र ‘निशब्द’ सुनाए। 

उनले अरुण थापाको ‘आँखाको गीत खोसी लाने’, साङ्गीतिक समूह कन्दराको चर्चित गीत ‘तगारोमा रुमाल राखी’, नवीन के भट्टराईको ‘अलिकति पीडा’लगायत गाए। सागरले गाउँदा दर्शकले पनि गला मिलाए। तालीले साथ दिए।

सागरको गायनपछि पराजुलीले आफ्ना चर्चित कविता सुनाए। लामा कविता पनि कठस्थ र मार्मिक शैलीमा प्रस्तुत गर्ने उहाँको प्रतिभाले दर्शकदीर्घाबाट वाहीवाही पायो। पराजुलीले ‘उ’, ‘एक्लै’लगायत आफ्ना चर्चित कविता वाचन गरे। 

आयोजक बुकवर्म फाउण्डेशनले फेस्टिभलको औपचारिक उद्घाटनपूर्व ‘शुभारम्भ साँझ’ राखेको हो। उक्त कार्यक्रममा पहिला पुग्ने दस जनालाई पराजुलीको कविता कृति ‘सगरमाथाको गहिराइ’ उपहारस्वरुप प्रदान गरिएको थियो।

दशौं संस्करणको उक्त फेस्टिभल बुधबारदेखि नै सुरु भए पनि औपचारिक उद्घाटन भने बिहीबार दिउँसो हुने आयोजकले जनाएको छ। उद्घाटन सँगसँगै काठमाडौं विश्वविद्यालयका रजिष्टार अच्युत वाग्लेले विद्धत प्रवचन, गोपाज योञ्जनको २५ औं स्मृतिवर्षको अवसर पारेर साङ्गीतिक प्रस्तुति ‘गोपालय’ र ‘घरबाट स्कुलसम्म’ शीर्षकमा छलफल सत्र तय गरिएको छ।

फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलमा देश-विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्तिको उपस्थिति रहने जनाइएको छ। 

फेस्टिभलमा कला, साहित्य, सङ्गीत, राजनीति, अर्थतन्त्र, खेलकुदलगायत विषयमा बहस र अन्तरसम्वाद हुनेछ। ५० बढी सत्रमा सम्बन्धित क्षेत्रका विषय विज्ञ र विद्धत व्यक्ति वक्ताका रुपमा सहभागी हुने आयोजकको भनाइ छ।

फेस्टिभलमा श्रीलङ्काका लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुललगायत सहभागी हुँदैछन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, सीके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइरालासहित विशिष्ट व्यक्तिहरु वक्ताका रुपमा उपस्थित हुनेछन्।

पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, बुद्धिसागर, सुविन भट्टराई, सङ्गीतकार रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्कालगायतले विधागत छलफल सत्रमा भाग लिनेछन्। फेस्टिबलका सदस्य केशवशरण लामिछानेले अतिथि वक्ता र सहभागीहरु पोखरा आउने क्रम सुरु भएको बताए। 

दस वर्षअघि काठमाडौंबाट सुरु भएको उक्त फेस्टिभल पछिल्ला केही वर्षदेखि पर्यटकीय सहर पोखरामा हुँदै आएको छ। कोभिड–१९ का कारण फेस्टिभलको यसअघिको संस्करण रोकिएको थियो।

फेस्टिभलमा कला, साहित्यप्रेमीदेखि समसामयिक र सार्वजनिक महत्वका विषयमाथि हुने बहस सुन्न चाहानेहरुको उल्लेख्य उपस्थिति रहने गर्छ। फेस्टिभलको सह-आयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको छ।