कलाकार निशा घिमिरेको स्वास्थ्यमा देखिएन अपेक्षित सुधार

कलाकार निशा घिमिरेको स्वास्थ्यमा देखिएन अपेक्षित सुधार

काठमाडौं, १५ भदौं । 
सडक दुर्घटनामा गम्भीर घाइते भएकी मोडल तथा कलाकार निशा घिमिरेको उपचार गरिरहेको नर्भिक अस्पतालले घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको बताएको छ । 

मंगलबार पत्रकार सम्मेलनमार्फत् अस्पतालका प्रमुख कर्पोरेट कम्युनिकेसन अफिसर सोमनाथ बास्तोलाले उद्धार गरेको झन्डै तीन महिना बित्न लाग्दासमेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको र  स्वास्थ्य अवस्था स्थिर नै रहेको बताएका हुन् । 

अस्पतालले जारी गरेको विज्ञप्तीमा निशाको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध भएसम्मका प्रविधि, सीप र विधिको प्रयोग गरिए पनि स्वास्थ्यमा खासै सुधार नभएको जनाइएको छ ।

‘उद्धार गरेको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखा परेका थिए। उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन। तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ।’ 

करिब तीन वर्ष अघि मोडलिङ पढ्न भारतको देहरादुन पुगेको डेढ महिनामा नै उनी दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार पछि उनलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो ।

तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी अचेत अवस्थामा घरमै रहेकी निशाको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएकी थिइन् ।

नर्भिक अस्पतालका अनुसार हालसम्म निशाको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। 

नर्भिकले निशाको उपचारका क्रममा अरू कोही व्यक्ति वा संस्थाबाट कुनै पनि सहयोग नलिएको र लिन आवश्यक समेत नरहेको प्रष्ट पारेको छ ।