काँकडभिट्टाबाट सुरु भयो ‘सप्तरङ्गी–३’, पुस ९ मा पोखरामा समापन हुने

काँकडभिट्टाबाट सुरु भयो ‘सप्तरङ्गी–३’, पुस ९ मा पोखरामा समापन हुने

२६ मंसिर, काठमाडौं । 
सङ्गीतको माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रवाहित गर्दै देशका आठ सहरमा आयोजना हुने सांगीतिक अभियान ‘सप्तरंगी’को तेस्रो संस्करण शुक्रबार साँझ काँकडभिट्टाबाट प्रारम्भ भएको छ ।

सप्तरङ्ग ३ पुस ९ गते पोखरामा सकिने आयोजकले जानकारी दिएको छ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम आयोजना राखिएको छ ।

पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित यो ‘सप्तरङ्ग’ को तेस्रो श्रृंखलाले जनताद्वारा, जनताको निम्ति भन्ने सन्देश कलामार्फत जनतामा पुर्याउने छ ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले काँकडभिट्टा बसपार्कमा भएको उक्त कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा अभिनेता राजेश हमाल, गायक प्रमोद खरेललगायतका अन्य थुप्रै कलाकारहरुको सहभागिता थियो ।

‘सप्तरङ्ग ३’ कार्यक्रममा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, अनिल सिंह, हास्य कलाकारद्वय सन्दीप क्षेत्री र राजा राजेन्द्र, गायिकाहरु मिलन नेवार र अस्मिता अधिकारी, मोडल उषा उप्रेती सहभागी हुनेछन् ।