पारसको एकेडेमी पुगेर बालेनले भने, 'सरकारको खेलकुदमा गरेको लगानीबारे कहिले कुरा गरेनौँ'

पारसको एकेडेमी पुगेर  बालेनले भने, 'सरकारको खेलकुदमा गरेको लगानीबारे कहिले कुरा गरेनौँ'

२२ फागुन, काठमाडौं ।  
काठमाडौं महानगरको स्वतन्त्र मेयरमा उठ्ने घोषणा गरेका बालेन शाहले काठमाडौं उपत्यका भित्र रहेको विभिन्न स्थान तथा फरक फरक क्षेत्रका व्याक्तिसँगको भेटघाटलाई तीव्रता दिएका छन् । 

बालेन पेशाले इन्जिनियर समेत भएकाले महानगर भित्र भइरहेको विकास कंक्रिटे विकास मात्र भएको बताउदै आएका छन् । उनले महानगरले सम्पदा जोगाउन नसकेको आरोप लगाएका छन् ।  

भेटघाटका क्रममा बालेनले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग उनको एकेडेमीमा पुगेर भेटघाट गरेका छन् ।

पारससँगको भेटघाटपछि सामाजिक सञ्जालमा तस्विर सेयर गर्दै बालेनले लेखेका छन्, 'हामी क्रिकेटमा अस्ट्रेलियाको सफलता अनि फुटबलमा ब्राजिलको सफलता देखेर रमाउछौँ । तर कहिले तिनिहरुको सफलताको पछि, तिनिहरुको खेलकुदको कल्चर र त्यहाँको सरकारको लगानीबारे कहिले कुरा गरेनौँ । राम्रो खेलाडी बन्न १० हजार घन्टा खेल्न पर्छ भन्ने आधुनिक थेउरी छ तर हामीले हाम्रो खेलाडीलाई १०,००० घन्टा खेल्ने वातावरण तयार पारेका छौँ त ? अस्ट्रेलियामा त्यहाँ स्थानिय पार्क वा छेउ छाउमा नेट सहितको पिच मा बत्ती जोडिदिएको हुन्छ खेलाडीहरु आफ्नो पायक पर्नेबेला त्यहा गएर खेल्न सक्छन् , त्यसै गरि ब्राजिलमा सार्वजनिक ठाउमा बत्ती सहित फुटबल खेल्ने ग्राउन्ड व्यवस्था गरि दिएको हुन्छ खेलाडीहरु पायक पर्ने बेला खेल्न सक्छन्। हाम्रो काठमाडौमा यसरी सार्वजनिक ठाउँमा खेल्ने अहिले वातावरण नै छैन भने काठमाडौ बाहिर पनि नियमित ग्राउन्ड नभएर खेलाडीले नियमीत खेल्न पाएको छैनन् । अब हामीले ठूलो स्टेडियम त छ्दैछ यसरी हरेक सहर गाउँमा खेल्ने वातावरण बनाउन जरुरी छ ।' 

'आज हाम्रो कृकेट नायक पारस खड्काको एकेडेमीमा गएर यस्ता कुराहरु जान्न बुज्न पाउँदा हामीले २० बर्षको पछि नतिजा हेर्ने भए आज नै सुरु गर्नुपर्छ भन्ने बारेमा महत्वपूर्ण कुराहरु भएको छ,' बालेनले लेखेका छन् ।