‘जातको प्रश्न’ कार्यक्रमको दोस्रो सिजन सुरु

‘जातको प्रश्न’ कार्यक्रमको दोस्रो सिजन सुरु

काठमाडौं, २६ भाद्र । 
समता फाउन्डेशन सञ्चालन गर्दै आएको जातको प्रश्नको दोस्रो सिजन सुरु हुने भएको छ । 

आज काठमाडौं एक कार्यक्रमको आयोजना गर्दै ८ अक्टोबर २०२१ देखि दोस्रो सिजन सुरु हुने आयोजक समता फाउन्डेशनले जानकारी दिएको छ । 

फाउन्डेसनले जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जात–जातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न ‘जातको प्रश्न’ को दोस्रो सिजन सुरु गरेको हो । 

कार्यक्रम महानायक राजेश हमाल, अभिनेता दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, गायक प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुङ्गाना चौधरीले सञ्चालन गर्नेछन् ।

कार्यक्रममा महानायक हमालले जतिसुकै राम्रो संविधान बनाए पनि जातीय समस्या व्यवहारमा उतार्न ठूलो चुनौति रहेको बताए । उनले एक मानवले अर्को मानवमाथि गरेको विभेदले आफूलाई सताइरहेको समेत बताए । त्यस्तै अभिनेता दयाहाङ राईले जातको आधारमा गरिने विभेद कुनै एउटा समुदायको मात्रै चासोको विषय नभएको बताए ।

 ‘जातको प्रश्न’ को दोस्रो सिजन १२ अङ्कको हुनेछ । निर्देशक शान्ता नेपालीको नेतृत्वमा निर्माण हुने ‘जातको प्रश्न’को दोस्रो श्रृंखलामा नेपालका दलितहरुले भोगिरहेको जीवनको यथार्थ र अनुभवका कुराहरुलाई समेटिनेछ । उक्त कार्यक्रमका अनुभवी पत्रकार विवेक रेग्मी, लेखक भानु बोखिम तथा समता फाउन्डेसनका अनुसन्धानकर्ताले कार्यक्रमका लागि अनुसन्धान र लेखन गरेका छन् ।

समता फाउन्डेसन २०६५ सालमा स्थापना भएको हो । यसले दलित तथा सीमान्तकृत समुदायको अध्ययन–अनुसन्धान गरी ५० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ र यसैको आधारमा नीतिगत पैरवी गरी रहेको छ ।