जब लुटेराको समूहले अभिनेत्री अलंकृतालाई बाथरुममा बन्धक बनाए...

जब लुटेराको समूहले अभिनेत्री अलंकृतालाई बाथरुममा बन्धक  बनाए...

काठमाडौं, २४ भदौं । 
अभिनेत्री तथा इन्टेरियर डिजाइनर अलंकृता सहायलाई लुटेराको एक समूहले घरमा बन्धक बनाएर नगद लुटेका छन् । 

उनको चण्डीगढको सेक्टर–२७ को घरमा मंगलबार दिउँसो १२ बजेको समयमा तीन लुटेरा पसेर चक्कु देखाउदै साढे ५ लाख रुपैंयाँ लुटेका हुन् ।

पैसा लुट्नु अघि लुटेराले अभिनेत्रीलाई बन्धक बनाएका थिए । त्यसपछि दुई घण्टा घरमै बसेर सबै पैसा संकलन गरेपछि घरको छतबाट भागेका थिए ।

लुटेराले उनलाई घरको बाथरुममा बन्धक बनाएका थिए । लुटेराले उनलाई एटीएम र एटीएमको पिन पनि मागेको थियो । त्यसपछि एटीएमको माध्यमबाट लुटेराले ५० हजार रुपैंयाँ निकालेका थिए । प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।

अलंकृता सन् २०१४ को ‘मिस इण्डिया अर्थ’ विजेता हुन् । उनी सेक्टर २७ मा एक लेफ्टिनेन्ट कर्णेलको घरको दोस्रो तलामा बस्छिन् । उनी नयाँदिल्लीमा बस्ने भए पनि एक महिना अघि चण्डीगढमा सरेकी थिइन् ।

पञ्जाबी म्यूजिक भिडियोमा अभिनयका लागि उनी चण्डीगढ आएकी थिइन् । प्रहरीले उनको कोठाको सिढीमा राखिएको सीसीटीभी फुटेजका आधारमा लुटेराको पहिचान गरेको छ ।