लिम्बूको भाषामा आधारित ‘थेत्लङ’ फिल्म अमेरिकाको ज्याक्सन हाइटमा प्रदर्शन हुने

लिम्बूको भाषामा आधारित ‘थेत्लङ’ फिल्म  अमेरिकाको ज्याक्सन हाइटमा प्रदर्शन हुने

काठमाडौं, २० भदौं । 
लिम्बू भाषामा आधारित पहिलो लिम्बू कथानक आधुनिक फिल्म ‘थेत्लङ’अमेरिकाको ज्याक्सन हाइटमा प्रदर्शन हुने भएको छ ।

थेत्लङ आगामी अक्टोबर २ मा अमेरिकाको ज्याक्सन हाइटस्थित सत्यनारायण हलमा प्रदर्शन हुने भएको हो। फिल्मका निर्देशक किशोर सुब्बा अनुसार त्यहाँ पहिलोपटक फिल्मको विशेष प्रदर्शन हुन लागेको हो ।

ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । उक्त उपन्यासलाई फिल्म निर्देशक तथा लेखक सागर केरुङले फिल्मको पटकथामा ढालेका छन् ।

सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा विशाल सेनेहाङ, दिव्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, सोनु ताम्लिङलगायतले अभिनय गरेका छन् ।

सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको फिल्ममा दिनेश माङ्मुको नृत्य, कुल्बा सुब्बा, राजु आङ्देम्बे, मणि ताम्लिङ र पविन आङ्देम्बको संगीत छ ।

मणि ताम्लिङ निर्माता रहेको फिल्ममा विराज लिम्बु सहनिर्माता छन् । यो फिल्म काठमाडौं, धरानलगायतका स्थानमा प्रदर्शन भइसकेको छ । फिल्म हङकङ, कोरिया, यूकेलगायतका देशमा प्रदर्शनको तयारीमा छ । फिल्मले चारवटा एफएलएफए अवार्ड पनि जितेको छ ।