अभिनेता दयाहाङ बने नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डर

अभिनेता दयाहाङ बने नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डर

काठमाडौं, १५ भदौं । 
अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । 

आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । 

दयाहाङलाई दूतमा नियुक्त गरेसँगै आयोजक संस्थाले भनेको छ,  ुमहोत्वस अवधिमा हाम्रा विभिन्न संस्कृतिबीचको सम्वाद तथा विश्वका लागि हाम्रो परिकल्पनालाई साकार बनाउन दयाहाङ हामीसँग मिलेर काम गर्नुहुने छ । महोत्सवले पर्यावरणीय चुनौती तथा जलवायु परिवर्तनसँग सम्बन्धित युरोपेली र नेपाली चलचित्रहरू  तपाईंहरू सामु ल्याउने छ ।’ 

दयाहाङ राईले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । उनले महामारीका कारण फिल्मका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि हुने फेस्टिभलले फिल्मकर्मीमा उर्जा सञ्चार गर्ने बताए । ‘महामारीले फिल्मका गतिविधि ठप्प भएको समयमा फिल्म फेस्टिभल हुनु नै सकारात्मक कुरा हो । अझ फेस्टिभलमा नेपाली फिल्म पनि समावेश हुनेरैछन्, यसले झनै उत्साहित तुल्याएको छ,’ उनले भने, ‘ यो फेस्टिभल आफैंमा साँस्कृतिक आदान प्रदान जस्तो हो । यसले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्छ ।’

नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ । योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको विजेताको घोषणा तथा चलचित्रसँग सम्बन्धित महत्वपूर्ण अन्तक्र्रिया र गोष्ठिहरू पनि सञ्चालन हुने छन् ।