नेपाली चलचित्र क्षेत्रमा फरक अभ्यास: जुम्लाको दुर्गम गाउँमा फिल्म 'प्रकाश'को प्रिमियर

नेपाली चलचित्र क्षेत्रमा फरक अभ्यास:  जुम्लाको दुर्गम गाउँमा फिल्म 'प्रकाश'को प्रिमियर

काठमाडौं, ८ भदौ । 
अधिकांश नेपाली फिल्मले प्रिमियर काठमाडौंको कुनै हलमा तामझामसाथ गर्छन् । सांसद, मन्त्री र वरिष्ठ कलाकारलाई निम्ताृ दिन्छन् । केहि रंग पत्रकार देखि युट्युवरलाई फिल्म देखाएर प्रिमियर भव्य रुपमा सम्पन्न भएको भन्दै प्रचारबाजीमा लाग्छन् । तर नेपाली फिल्म 'प्रकाश'को प्रिमियर भने अन्य नेपाली  फिल्मको भन्दा भिन्न देखियो । 

हल र बिजुली नभएका गाउँमा निर्माण टिमले नै जेनेरेटर र प्रोजेक्टरको व्यवस्था गरि गाउँलेलाई फिल्म देखाएर प्रिमियर गरेको छ । फिल्मको प्रिमियरमा नायक प्रदीप खड्का र लेखक विकास सुवेदीले गाउँलेसँग चलचित्र हेरेर प्रिमियर गरेका थिए ।  कलाकारको स्वागतमा गाउँलेले झाँकी निकालेका तस्बिरहरु अभिनेता प्रदीप खड्काले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । । 

यो दृश्य जुम्लाको दुर्गम गाउँमा पहिलो पटक फिल्म 'प्रकाश'को प्रिमियर गरिएपछिको हो। भदौको १० गतेबाट रिलिज हुन लागेको यो फिल्मको आइतबार साँझ पातारासी गाउँपालिकाको तिर्खु गाउँमा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको परिसरमा प्रिमियर गरिएको हो ।

जुम्लामै सुटिङ गरिएको फिल्ममा शिक्षक बन्न एक युवाले गर्नुपरेका सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत छ ।