चोरीको आरोपपछि युट्युबबाट सुटुक्क हटाइयो किरण र मेलिनाको ‘हे दैव’ गीत

चोरीको आरोपपछि युट्युबबाट सुटुक्क हटाइयो किरण र मेलिनाको ‘हे दैव’ गीत

२२ पुस, काठमाडौं । 
नेपाली गीतसंगीत क्षेत्रमा चोरीको आरोप लागेका गीतहरु गन्ने हो भने दुई हातका औलाले पुग्दैनन् । हालै सार्वजनिक भएको  ‘हे दैव’ बोलको गीत पनि चोरीको आरोप लागेपछि युट्युबबाट सुटुक्क हटाइएको छ ।

मेलिना राई र किरण गजमेरको स्वरमा रहेको उक्त गीत यसै साताको सोमबार सार्वजनिक गरिएको थियो तर चोरीको आरोप लागेपछि गीत बुधबार युट्युबबाट हटाइएको छ ।

रमेश एमके पौडेलको रचना तथा सुवास भुषालको संगीत भनिएको उक्त गीतको सुरुको हरफ नै आफ्नो रचनाबाट चोरी गरिएको भनि गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले दाबी गरेपछि उक्त गीत अहिले हटाइएको छ ।

गीतकार खड्काको रचना तथा गायक कर्ण दासको स्वरमा रहेको ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, हामीबीचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो’ बोलको गीतबाट अनुमतिबिना नै सिधै चोरी गरिएको खड्काको आरोप छ ।

खड्काका अनुसार उक्त गीत २०६१ सालमा रेकर्ड भएर २०६२ सालमा सार्वजनिक भएको गायक एवं संगीतकार कर्णदासको एल्बम ‘आधा सपना’मा समावेश गीत हो । गीतमा कर्णदासको संगीत तथा स्वर रहेको छ ।

उनले गीतकार सम्पर्कमा नआएपछि मध्यस्थकर्तासँगको कुराकानीपछि युट्युबबाट गीत हटाइएको जानकारी दिएका दिए।