लामो समयपछि ‘पागल प्रेमी-२’ मार्फत सांगीतिक क्षेत्रमा निमा रुम्बा(भिडियो)

लामो समयपछि ‘पागल प्रेमी-२’ मार्फत सांगीतिक क्षेत्रमा निमा रुम्बा(भिडियो)

काठमाडौं, २० असोज ।
गायक निमा रुम्बाको नयाँ गीत ‘पागल प्रेमी-२’ (क्रेजी लभर) को भिडियो सार्वजनिक भएको छ ।

गायक रुम्बाले  ‘पागल प्रेमी’ (मायालु तिमी भनिदेउ) करिव तीन दशकअघि नै सांगीतिक क्षेत्रमा प्रस्तुत गरेका थिए, जुन अत्यन्त लोकप्रिय भयो । त्यसै गीतको भाग दुईका रुपमा  गायक रुम्बाले पागल प्रेमी –२ पनि केही वर्षअघि नै रेकर्ड गराएका थिए । तर गीतको भिडियो बनाएपछि मात्र उनले हालै यो गीत सार्वजनिक गरेका हुन् । 

यो पप, इडिएम, डिस्को र आर एण्ड बी शैलीको फ्युजन रहेका यो गीतमा गायक रुम्बाकै शब्द, संगीत तथा स्वर रहेको छ ।

अमेरिकामा छायांकन गरिएको यो गीतको भिडियोमा गायक रुम्बा आफैंले प्रमूख भूमिकामा अभिनय गरेका छन् ।

उनको साथमा मिस युनिभर्स नेपाल २०२१ की विजेता अंशिका शर्मा र मिस्टर यूएसए तथा दुईपटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रो कार्ड विजेता उत्सव सिंहले पनि अभिनय गरेका छन् ।

यो भिडियोका निर्देशक आशिष श्रेष्ठ हुन् ।

मिस क्याटवाक, हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, साँझमा पनि, मेरी प्रियसी जस्ता लोकप्रिय गीतका गायक निमा रुम्बा लामो समयपछि सांगीतिक क्षेत्रमा फर्किएका हुन् ।