गीत सच्याउन नमानेपछि दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय

गीत सच्याउन नमानेपछि दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय

काठमाडौं, १८ साउन । 
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ ।

दुर्गेशको शब्द, संगीत र स्वरमा केहि दिनअघि सार्वजनिक भएको गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ ल्याउनुअघि नै दोहोरीगीत प्रतिष्ठानले ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनाएको थियो । प्रतिष्ठानले सो गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै दुर्गेशलाई पत्र नै काटेको थियो ।

तर, प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले गीत सार्वजनिक गरे । उक्त गीतले तीजको मर्ममाथी प्रहार गरेको प्रतिष्ठानले ठहर छ । 

गीतलाई लिएर सामाजिक सञ्जालदेखि महिला एवं महिलासँग सम्बन्धित संस्थाहरुले आपत्ति जनाएका छन् । आफूहरुको आग्रह अस्वीकार गर्दै गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले दुर्गेशलाई संस्थागत बहिस्कारको निर्णयमा पुगेको हो ।

आईतबार बसेको दोहोरीगीत प्रतिष्ठान केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन ।

गायक थापालाई प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्वन गर्ने, प्रतिष्ठानको सम्पुर्ण सेवा सुविधाबाट बन्चित गर्ने,  प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनैपनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला-महोत्सवमा नबोलाउने गरी प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई आग्रह गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।