मेलम्चीबाट सीएमसीलाई हटाउने निर्णय,मेलम्ची आयोजना थप संकटमा

मेलम्चीबाट सीएमसीलाई हटाउने निर्णय,मेलम्ची आयोजना थप संकटमा
तस्विर सौजन्य : Historical Infrastructure

२४ माघ, काठमाडौं । मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवर्क्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभिनासँग सरकारले ठेक्का तोडेको छ ।

आयोजनाका प्रमुख सूर्यराज कँडेलका अनुसार बिहीबार बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरेको हो । सिएमसीले गत मङ्सिर २९ गते एकतर्फीरुपमा आयोजना स्थल छाडेर गएपछि काममा फर्किन दिइएको १४ दिनको समयसीमा गुज्रिएपछि मेलम्ची खानेपानी आयोजनाले सीएमसीलाई औपचारिक विदाइ गरेको छ ।

सकारले गत माघ ६ गते  १४ दिनभित्र काममा फर्किन सक्ने गरी ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) जारी गरेको थियो । तर, अन्तिम म्याद भनिएको सोमबारसम्म सीएमसी काममा फर्किएन ।

तर अझै मेलम्ची आयोजनालाई कसरी अघि बढाउने भन्नेबारे आयोजना अनिणिर्त छ । बोर्ड बैठकले यस विषयमा विकल्पहरु तयार गरेर सरकार समक्ष पेश गर्ने निर्णय गरेको छ ।खानेपानी मन्त्रालयले सीएमसीसँग वार्ता गर्न भन्दै यही बीचमा एउटा सरकारी टोलीलाई थाइल्यान्ड पठाएको थियो । तर, यो वार्तामा सीएमसी हालकै अवस्थामा काममा फर्किन सहमत भएन ।

ठेक्का रद्द भएपछि सरकारले फेरि नयाँ प्रक्रियाकार्फत ठेक्का गरेर बाँकी काम सम्पन्न गर्नुपर्नेछ । अब त्यसका लागि मात्रै करिब ६ महिना समय लाग्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।काठमाडौँवासीको लामो समयदेखिको प्रतिक्षाको विषय बनेको आयोजना अन्योलमा परेपछि सरकारले तत्काल उपयुक्त विकल्प दिने अपेक्षासमेत गरिएको छ ।

सङ्घीय संसद्को विकास समिति, अर्थ समितिलगायतले पनि उपयुक्त विकल्प खोजेर आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गराउन यसअघि नै सरकारको ध्यानाकर्षण गराइसकेको छ ।