सैनामैनालाई नमुना नगरका रुपमा विकास गर्छौ : अर्थमन्त्री पौडेल

सैनामैनालाई नमुना नगरका रुपमा विकास गर्छौ : अर्थमन्त्री पौडेल

अनिल सापकोटा
सैनामैना, १० मंसिर ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकाला व्यवस्थित नमुना नगरको रुपमा विकास गरिने बताएका छन् ।

बुधवार बिहान रुपन्देहीको सैनामैना नगरपालिकामा निर्माण सम्पन्न भएका नवनिर्मित दुई विद्यालय भवनको उद्धघाटन गर्दै पौडेलले यस क्षेत्रका ठूला तथा साना आयोजनालाई सम्पन्न गर्दै सैनामैनालाई आधुनिक र व्यवस्थित शहरको रुपमा विकास गरिने बताएका हुन् ।

जनता र जनप्रतिनिधीको संयुक्त प्रयासमा सैनामैना नगरपालिकालाई शैक्षिक गुणस्तरका दृष्टिकोणले, वातावरणीय र पूर्वाधार विकासका दृष्टिकोणले व्यवस्थित, आधुनिक र विकसित नमुना नगरका रुपमा विकास गरिने अर्थमन्त्री पौडेलले बताए ।

सैनामैनाको वनकट्टा देखि माथी रहेका ऐतिहासिक स्थल रानिकुवाको नजिकै गौतम बुद्ध सँग सम्बन्धित पुरातात्विक वस्तुहरुको संग्रह गरि आधुनिक व्यवस्थित संग्रहालयको निर्माण प्रक्रिया समेत अगाडि बढेको उनले जानकारी दिए ।

त्यस्तै बुटवलबाट चन्द्रौटा हुँदै धानखोला सम्मको सडकका निम्ती नेपाल सरकारले आवश्यक बजेटको प्रबन्ध गरेको बताउदै अर्थमन्त्री पौडेलले यो सडकलाई एक्सप्रेस हाइवेको रुपमा विकास गर्ने तयारी भइरहेका बताए ।

'सैनामैनाको चक्रपथ यहाँका जनताले लामो समयदेखि देखेको सपना हो, विभिन्न कारणले यो पुरा हुन पाएको छैन,' उनले भने, 'नगरपालिका, प्रदेश सरकार र संघिय सरकारको प्रयासमा सिघ्र सम्पन्न हुनेछ, चक्रपथको माध्यमबाटै सैनामैनाको विकासलाई नयाँ उचाईमा पुर्याउने छौँ ।'