माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्ने

माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्ने

काठमाडौं, २४ पुस ।

चैतदेखि बन्द रहेका काठमाडौं उपत्यकाका सामुदायिक तथा निजी विद्यालय स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् ।  

गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित उपत्यकाका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो÷टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका छन् । ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको  गरिएको छ ।  

काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताए । उनले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा ३/४ घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने जानकारी दिए । काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी (संस्थागत) विद्यालय छन् । यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन् । 

कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । काठमाडौँको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पछि आफूहरुलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताए । 

भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो । विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्र्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यविधिले दिइसकेको तर देशभर अनिवार्यरुपमा सञ्चालनका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्ने बताए । 

यता जनस्वास्थ्य विज्ञले भने विद्यायल खोल्न हतार नगर्न सुझाव दिँदै आएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का अध्यक्ष टीकाराम पुरीले लामो समयदेखि विद्यालय बन्द रहेको र महामारीको जोखिम घटेकाले काठमाडौँ र शहरी क्षेत्रका विद्यालय पनि खुलाउन आफ्ना सदस्य विद्यालयलाई आग्रह गरिएको बताए । निजी विद्यालयले प्रत्यक्ष पढाइ नहुँदा पूर्ण शुल्क लिन नपाइएको र आर्थिकरुपमा सञ्चालन गर्न धौधौ परेको जनाउँदै शिक्षकलाई न्यून तलब दिन थालेका थिए।