आपूर्ति विभागका नायब सुब्बा घुससहित पक्राउ

आपूर्ति विभागका नायब सुब्बा घुससहित पक्राउ

काठमाडौं, ३ फागुन । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्दलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार एक सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाणपत्र लिनका लागि लेखापढी व्यवसायीमार्फत ८ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको हो । लेखापढी व्यवसायी रामबाबु दाहालले कर्मचारीलाई मिलाउनुपर्छ भन्दै घुस दिन भनेका थिए । 

आयोगको टङ्गालबाट गएको टोलीले घुस रकमसहित नायब सुब्बा चन्द र लेखापढी व्यवसायी दाहाललाई विभाग परिसरबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रिसालका अनुसार आइतबार उनीहरु पक्राउ परेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको हो । 

उनीहरुबारे थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।