खरको छानारहित घर निर्माणमा सरकारले सहयोग गर्छ: प्रधानमन्त्री ओली

खरको छानारहित घर निर्माणमा सरकारले सहयोग गर्छ: प्रधानमन्त्री ओली
file photo

बिर्तामोड, १८ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फुस (खर) का छाना भएका घरलाई अब टिन (जस्ता) का छानाका घरले विस्थापित गर्ने बताएका छन् । देशैभर फुसका छाना भएका घर विस्थापनमा सरकारले अभियानै सुरु गरेको बताउदै  खरको छानारहित घर निर्माणमा सरकारले सहयोग गर्ने प्रतिवद्दता जनाएका छन्। 

ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को  उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले मुलुकमा घरबारविहीन कोही हुनु नपर्ने जनाउँदै देशभर फुसको छानारहित घर निर्माणमा सरकारले सहयोग गर्ने बताए । 

भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश नम्बर १  सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको १४ करोड ८० लाखका लागतमा बिर्तामोड–७ मा निर्मित सो ‘ग्राममा’ मा ३७  आवासगृह छन् । 

नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सो बस्तीमा अतिविपन्न कुर्मी र सन्थाल समुदायका परिवारलाई बसोबास गराइएको जानकारी दिए। 

नगरप्रमुख शिवाकोटीका अनुसार हालसम्म नगरपालिकाभित्र ३०६ घर निर्माण गरेर विपन्न समुदायलाई हस्तान्तरण गरिसकिएको छ । चालु आर्थिक वर्षमा ५०० घर निर्माण गरेर हस्तान्तरण गर्ने योजनानुरुप २०६ घर निर्माणाधीन रहेको जानकारी दिए ।