जाजरकोटमा पनि भेटियो बर्डफ्लु

जाजरकोटमा पनि भेटियो बर्डफ्लु

जाजरकोट, २६ फागुन ।
जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । 

पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको जानकारी दिए। 

यो घटनासँगै माघयता नेपालमा पाँचपटक बर्ड फ्लु देखिएको हो । यसअघि काठमाडौँको तारकेश्वर–१ मा २ पटक र वडा नं ७ मा १ पटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १ पटक बर्ड फ्लु देखिएको थियो । 

बर्ड फ्लु पुष्टि भएपछि उक्त क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ ।  ढकालले रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकको विज्ञ टोली जाजरकोट पठाइएको जानकारी दिए । 

बर्ड फ्लु देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ । 

ढकालका अनुसार रोग नियन्त्रणका क्रममा त्यहाँ रहेका ३३१ लेयर्स कुुखुरा, ७० लोकल कुखुरा, ८८३ अण्डा र २५१ केजी दाना, २०० वटा अण्डाको केटसमेत नष्ट गरिएको छ ।