ललितपुर महानगरपालिकाको मुख्य सडकमा स्मार्ट लाइट जडान गरिने

ललितपुर महानगरपालिकाको मुख्य सडकमा स्मार्ट लाइट जडान गरिने

फागुन १२, काठमाडौं । ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट लाईट  जडान गरिने भएको छ । ललितपुर  महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो । 

चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट बत्ती' जडान गर्न लागिएको हो ।

 कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्खो, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उनले बताए । 

प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ । उनले भने, “अबको एक वर्षभित्रमा महानगरका मुख्य सडक सबैतिर बत्ती जडान भइसक्नेछ ।” 

‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले बताएको छ । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैँ बल्ने प्रवक्ता महर्जनले बताए । उनले भने, “यात्रु र सवारी गएपछि बत्ती आफैँ निभ्नेछ ।” 

महानगरपालिकाका अधिकांश सडकमा बत्ती नहुँदा सवारीचालक र यात्रु हैरान छन् भने रातका समयमा सडक दुर्घटना भइरहेको छ ।