बुटवलमा करिब ७ करोड लागानीमा जितगढी(बटौली) युद्ध सङ्ग्रहालय बन्दै

बुटवलमा करिब ७ करोड लागानीमा जितगढी(बटौली) युद्ध सङ्ग्रहालय बन्दै

बुटवल, ४ चैत ।  
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदास्थल जितगढी र सांस्कृतिक शहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी युद्ध सङ्ग्रहालयको निर्माण शुरु गरिएको छ ।

ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल–अङ्ग्रेजयुद्ध ताकाको झल्को दिनेगरी निर्माण गर्न लागिएको जितगढी–बटौलीयुद्ध सङ्ग्रहालयको उपमहानगरका प्रमुख शिवराज सुवेदीले आज शिलान्यास गरेका छन्। राष्ट्रिय स्वाभिमान, पहिचान र शानका रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा समेत लिइँदै आएको तथा अन्तर्गतको एउटा महत्वपूर्ण कामका रुपमा सङ्ग्रहालयलाई लिइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । प्राचीन शहरले जन्माएका सबै उपशहरलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने जनाउँदै उनले बुटवल चक्रपथ, तिनाउ–दानब कोरिडोर र छिमेकि पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताए।  

उपमहानगरपालिकाले बनाएको एकीकृत शहरी विकास गुरुयोजनामा रहेको पर्यटनअन्तर्गत उक्त सङ्ग्रहालय छ । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत शहरी विकासको गुरुयोजना बनाइएको छ । वडा नं १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगरको करीब तीन कट्ठा जग्गामा उक्त सङ्ग्रहालय बन्नेछ । सङ्ग्रहालय चार तलाको बन्ने छ । पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाका परिकारसमेत पाइने गरी क्याफे रहने छ ।

यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनो राखिएको सोभिनियर शप रहने छ । करिब ६ करोड ८२ लाख ५० हजार २५६ बराबरको लागतमा उक्त सङ्ग्रहालय निर्माण हुन लागेको हो । निर्माण कार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता गरिएको थियो ।

निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इञ्जिनीयर प्रभाकर लामिछानेले तोकिएको समयअगावै निर्माण सक्ने गरी काम गरिने बताए। उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले निर्माणका लागि आवश्यक पर्ने समन्वय र सहकार्यमा उपमहानगरले कुनै कसुर बाँकी नराख्ने बताए ।