कर उठाउने जलेश्वर नगरपालिकाले फोहर उठाउँदैन

कर उठाउने जलेश्वर नगरपालिकाले फोहर उठाउँदैन

जलेश्वर , ५ चैत । 
जलेश्वर नगरपालिकाले फोहर नउठाएको त्यहाँका बासिन्दाले  गुनासो गरेका छन् । 

फोहरकोसमेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि  बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ ।  नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी सुरेश साह सोनारले बताए । उनले नगरपालिकाले सरसफाइकै नाममा वर्षेनी लाखौँ रकम छुट्याउने र जनताबाट समेत लाखौ रकम कर लिएर पनि नगरको उचित सरसफाइ नगरेरकोे आरोप लगाए। 

तराई–मधेशकै सबभन्दा पुरानो सदरमुकाममध्येका एक रहेको जलेश्वर अझैपनि चौतर्फी समुचित विकासको पर्खाइमा रहेको नागरिक समाजका अगुवाहरु बताउछन् ।  जलेश्वरकै विकासको नाममा वर्षेनी करोडौं रकम विनियोजन हुँदै आए पनि त्यहाँ विकासका अनुभूति हुननसकेको अगुवाहरु  गुनासो छ। जिल्लामा १५ स्थानीय तह कायम भए पनि जिल्लास्तरीय प्रमुख सरकारी कार्यालय सदरमुकाममै छन् । ती सरकारी कार्यालयकै आसपासमा फोहरको डङ्गुर देखिएको स्थानीयवासी लक्ष्मीकुमार साहले बताए। 

जिल्ला अदालत, कारागार, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, हुलाक, जिल्ला प्रशासन, जिल्ला समन्वयलगायतका सरकारी कार्यालयका आसपासमै फोहरको डङ्गुर छ । 

विसं २०२९ मा नै स्थापना भएको नगरपालिकाले अहिलेसम्म नगरको फोहरसमेत उचित व्यवस्थापन गर्न सकेको छैन । अन्य विकासको गति त झनै पछाडि रहेको स्थानीयवासीको आरोप छ । नगरपालिकालाई पटकपटक फोहर हटाउन आग्रह गरिदै आएपनि सुनुवाई नभएको स्थानीयवासी गुनासो छ ।  

बजार क्षेत्रका ढल बजारबासीको फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेका छ ।  ढलमा खानेपानीका बोतल, प्लास्टिकलगायतका फोहरका डङ्गुरले ढल पूर्णरूपमा बन्द भएका छन्।