अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या

अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या

ऐजेन्सी, २१ चैत । 
अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी हत्या गरेका छन् । 

सुरक्षाकर्मी रहेको स्थानमा कार दौडाएर हमला गरेका ती व्यक्तिको कार वासिङ्टन कम्प्लेक्सको सुरक्षा अवरोधमा गएर ठोक्किएको थियो । आक्रमणकारी व्यक्ति कारबाट बाहिर निस्केर प्रहरीमाथि अन्धाधुन्ध छुरा प्रहार गरेका थिए, जसबाट एक जनाको मृत्यु भएको र अर्का एक प्रहरी घाइते भएका थिए ।

अमेरिकी संसद कङ्ग्रेसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेको तीन महिना पुग्नैलाग्दा यस्तो घटना भएको हो ।

क्यापिटल प्रहरीका कार्यवाहक प्रमुख योगानन्द पिटम्यानले आक्रमणकारी व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको बताएका छन्। आफ्नो चाड इस्टरको विदा मनाउन पत्नी जिल बाइडेनका साथ क्याम्प डेभिडमा रहेका भएका राष्ट्रपति जो बाइडेनले हत्या गरिएका प्रहरी अधिकारी विलियम इभान्सका परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गरेका छन्। 

“क्यापिटल परिसरको सुरक्षा जाँचमा खटिएका प्रहरीमाथि भएको हिंसात्मक आक्रमण भएको र त्यसबाट एक प्रहरीको ज्यान गएको थाहा पाउँदा जिल र मलाई अत्यन्त दुःख लागेको छ ।” बाइडेनले लेखेका छन् । 

अमेरिकी संचार माध्यमहरुले आक्रमणकारी व्यक्ति एक २५ वर्षीय अश्वेत नोहा ग्रीन रहेको बताएका छन् । उनी अश्वेत राष्ट्रवादी नामको नेसन अफ इस्लाम आन्दोलनसँग आबद्ध रहेको पनि संचार माध्यमहरुले बताएका छन् ।