नेपालमा पाँच वर्षमा १०७ गैँडा बढे, देशभर गैँडाको संख्या ७५२ पुग्यो

नेपालमा पाँच वर्षमा १०७ गैँडा बढे, देशभर गैँडाको संख्या ७५२ पुग्यो

चितवन, २८ चैत । 
नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । 

राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए । यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए । 

शुक्रबार सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा भेटिएका छन् । यो सङ्ख्या सन् २०१५ मा ६०५ मात्रै थियो । पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य तीन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्यामा वृद्धि भएको ओलीले बताए । ओलीका अनुसार चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैँडा भेटिएको छ । 

त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैँडा भेटिएको छ भने पर्सा राष्ट्रिय निकुञ्जमा भने ३ वटा मात्रै गैँडा फेला परेको ओलीले बताए । अघिल्लो गणनामा पर्सामा ४ वटा गैँडा पाइएको थियो । राष्ट्रिय गैँडा गणनाअनुसार नेपालमा १४६ भाले र १९८ पोथी भेटिएको उल्लेख गर्दै बाँकी ४०८ गैँडाको लिङ्ग पहिचान हुन सकेको छैन । 

पाँच सय २० वयस्क गैँडा भेटिँदा ९६ अर्धवयस्क र १३६ बच्चा गैँडा भेटिएको ओलीले जानकारी दिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपक खरालले चैत ९ गतेदेखि शुरु गरिएको गणना चैत २७ गते रातिमात्रै सकिएको बताए । गणना सकिएपछि शुक्रबार र शनिबार तथ्याङ्क सङ्कलन तथा प्रविष्ट गर्ने काम भएको थियो । 

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी गैँडा गणनामा २३ दिन लागेको भन्दै खरालले गणनामा २५० गणक तथा ४३ हात्ती प्रयोग भएको जानकारी दिए । गैँडा गणनाकै क्रममा ध्रुवे हात्तीले आक्रमण गर्दा सात जना घाइते भएको तथा एक जना गम्भीर घाइतेको काठमाडौँमा उपचार भइरहेको छ ।