त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो हार

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो हार

काठमाडौं, ७ वैशाख । 
नेपालको घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल हार व्यहोरेको छ ।

मंगलबार टियु क्रिकेट  मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा विशाल लक्ष दिएको नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो ।  

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो । नेपालका लागि कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले ।  नेपालको स्कोर २० रन हुँदा आशिफ शेख खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि नेपालको स्कोर ६३ रन हुँदा दोस्रो विकेट गुमायो । कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । 

तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलविच ७८ रनको साझेदारी गरे जसमा कुशलले ४६ बलमा ८ चौका र १ छक्काको मद्दतले ६२ रन बनाए । 
त्यसपछि नेपालको स्कोर एक सय ५४ रन हुँदा चौथो विकेट गयो । दिपेन्द्रसिंह ऐरी ६० रनमा आउट भए । उनले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै टी–ट्वान्टीमा पहिलो अन्तराष्ट्रिय अर्धशतक बनाउन सफल भए ।

नेदरल्यान्ड्सको जितका लागि बेन कुपर र बास डे लिड नायक बने । कुपर र लिडले अर्धशतकीय इनिङ्स खेले । कुपरले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ३५ बलमा १० चौका प्रहार गरे ।

कुपरलाई सन्दीप लामिछानेले गरेको १३ औं ओभरको पाँचौ बलमा दिपेन्द्र सिंह ऐरीले लङअनमा क्याच गर्दै पेभिलियन फर्काएका थिए । कुपरले लिडसँग ६८ रनको साझेदारी गरेका थिए ।

लिडले ८१ रनको अविजित इनिङ्स खेले । उनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै अविजित ८१ रनको इनिङ्स खेलेका हुन् ।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ४८ रन खर्चेर चार विकेट लिएका हुन् ।

त्यस्तै करण केसी, अभिनास बोहरा र कुशल मल्लले एक एक विकेट लिए ।