सरकारी डाक्टर आन्दोलनमा, बिरामी निजी अस्पतालमा जान बाध्य

सरकारी डाक्टर आन्दोलनमा, बिरामी निजी अस्पतालमा जान बाध्य
तस्विर सौजन्य : the kathmandu post

फागुन १५, काठमाडौं । देशभरका करिब १४ सय सरकारी डाक्टरले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेर आन्दोलनमा जादा बिरामीको उपचार प्रभावित भएको छ ।

काठमाडौंका वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन् । उपत्यका बाहिरका अस्पतालहरुमा पनि आकस्मिकबाहेकका सेवा ठप्प छ ।

सरकारी चिकित्सकहरुले आफ्ना मागहरु अघि सारेर आन्दोलन गरेको झन्डै दुई महिना पुगेको छ । तर आझसम्म पनि  वार्ताले खासै गति लिन सकेको छैन । पुष २९ गते चिकित्सकको माग सम्बोधनको लागि स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकबीच वार्ता टोली गठन गरे पनि एक महिनासम्म पनि माग सम्बोधनको लागि कुनै ठोस विषय अगाडि नबढेको भन्दै माघ २७ देखि फेरि आन्दोलन सुरु गरेका हुन्  ।

सरकारी डाक्टरले दोस्रो पटक आन्दोलन सुरु गरेको पनि आज १८ दिन भयो । यसबीचमा पटक पटक वार्ताहरु भए तर कुनै पनि वार्ता निष्कर्षमा पुग्न सकेन । खासगरी, सरकारी चिकित्सकहरुको मागमा स्वास्थ्य मन्त्रालय सकारात्मक हुने तर विधेयक प्रक्रियामा सहमती हुन नसक्दा बिरामीको उपचार प्रभावित भएको छ ।