कोरोना संक्रमणमा नयाँ रेकर्ड: एकै दिन थपिए ७२११ संक्रमित

कोरोना संक्रमणमा नयाँ रेकर्ड: एकै दिन थपिए ७२११ संक्रमित

काठमाडौं, १८ वैशाख । 
पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । 

नेपालमा एकै दिनमा ७ हजार बढि संक्रमित भेटिएको यो पहिलो घटना हो । अघिल्लो साताको तुलनामा यो साता संक्रमितको संख्या १३६.८ प्रतिशतले बढेको छ।

गत २४ घण्टामा कोरोना भाइरसका कारण २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३३२५ पुगेको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा  मात्रै ३५९५ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा २७४४ ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भएका हुन् ।

आज १६१२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।