बेड खोज्दा खोज्दै बुटवलमा वडा सदस्यको एम्बुलेन्समा मृत्यु

बेड खोज्दा खोज्दै बुटवलमा वडा सदस्यको एम्बुलेन्समा मृत्यु
file photo

बुटवल, २४ वैशाख । 
बुटवल उपमहानगरपालिका ७ का वडा सदस्य कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

कोरोना संक्रमित ती वडासदस्यलाई श्वासप्रश्वासमा समस्या भएपछि  बिहीवार राती बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उक्त अस्पतालमा बेड नपाएपछि क्रिमसन अस्पताल, भिम अस्पताल हुँदै युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा पुर्‍याइएको थियो । तर मेडिकल कलेजमा पनि अक्सिजनसहितको बेड नपाइएपछि उनको एम्बुलेन्समै मृत्यु भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ।

उनको शुक्रवार बिहान एम्बुलेन्समै मृत्यु भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । मेडिकल कलेजमा बेड खाली भए पनि अक्सिजन नहुँदा एम्बुलेन्सको अक्सिजनकै सहारामा बाहिर चौरमा राखिएको थियो ।

उनको उपचारका लागि रातभर अस्पतालमा खोज्न हिडेका उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकिएको भन्दै एउटा असर अभिभावक गुमाएको बताएका छन्।

‘मैले तपाईंको शरीर लगलग कापिरहेको देखें, अनुहारबाट फिटफिट पसिना चुहाइरहेको देखें, तपाईंको आँखाबाट आँशुका धाराहरू बगिरहेको देखेँ, उपचारको आशामा तपाईं व्यग्र भइरहेको देखेँ, तपाईं तडपिइरहेको देखेँ, तपाईं छटपटाइरहेको अनि उकुसमुकुस भइरहेको देखेँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेघराज छिटो गर न म यहाँ एम्बुलेन्सभित्र अक्सिजन लगाएरमात्र बस्न सकिरहेको छैन । मलाई छिटो अस्पतालभित्र लगिहाल न भन्दै चिच्याइरहेको सुनेँ । तर म निरीह भए । लाचार भएँ, मैले तपाईंको लागि केही गर्न सकिनँ दाइ, मैले तपाईंलाई बचाउन सकिनँ ।’