कोरोना कहर: तीन दिनमा एउटै घरका तीन दाजुभाइको मृत्यु

कोरोना कहर: तीन दिनमा एउटै घरका तीन दाजुभाइको मृत्यु

नेपालगञ्ज, २४ वैशाख । 
नेपालगञ्जमा पछिल्लो तीन दिनमा एकै घरका तीन दाजुभाईको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–३ निवासश इम्तियाज, एजाज र जहीर अहमदको तीन दिनको अन्तरालमा मृत्यु भएको स्थानियले जानकारी दिएका छन् । 
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् ।

उनीहरु तीनै जनाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

बिहीवार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बिरामीको उपचारकाक्रममा मृत्यु भएको थियो ।

हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।