शवको परीक्षण गरेर मात्र श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने

शवको परीक्षण गरेर मात्र श्रद्धाञ्जलीका लागि  टुँडिखेलमा राखिने

फागुन १६, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव परीक्षणका लागि शिक्षण अस्पताल पुर्‍याइएको छ।

सेनाको हेलिकप्टरमार्फत बिहिबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सुरू भएको हो। शवको डिएनएका लागि केन्द्रीय प्रहरी प्रयोगशालाको समूहले काम गरिरहेको छ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै शवको पहिचान भएको छ। बाँकी पाँच जनाको शव जलेको अवस्थामा रहेकोले पहिचान हुन सकेको छैन। सबै शव पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने शिक्षण अस्पतालले जनाएको छ।
   
ताप्लेजुङको सिस्नेभीरमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको हो।

शिक्षण अस्पतालमा शव परिक्षण गरिसकेपछि शवलाई टुडिखलमा राखिने कार्यक्रम छ । मन्त्री अधिकारीको भोली गृहजिल्लामा दाहसंस्कार गरिने छ ।