आचारसंहिताको उल्लंघन गरेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध निर्वाचन आयोगमा उजुरी

आचारसंहिताको उल्लंघन गरेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं , ६ जेठ । 
प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । 

वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा नेकपा ९एमाले० का उम्मेदवार रामबहादुर थापाको पक्षमा विज्ञप्ति जारी गरेर मत मागेको भन्दै प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठविरुद्ध उजुरी परेको हो। काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकको  निर्णय अनुसार बिहीवार विहान निर्वाचन आयोगमा काँग्रेसले उजुरी दर्ता गराएको हो ।

प्रधानमन्त्री ओलीले बुधबार विहान निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा एमाले उम्मेदवार रामबहादुर थापा बादलका लागि मत मागेका थिए । यस्तै शिक्षामन्त्री श्रेष्ठले पनि निर्वाचन आचारसंहिताविपरीत बुधबार साँझ थापाको पक्षमा अपिल जारी गरेका थिए ।

"सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूले नेकपा एमाले पार्टीको अध्यक्षको हैसियतले र माननीय शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचार संहिताको ठाडो उलंघन भएको छ,"  काँग्रेस संसदीय दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।"