पशुपतिमा महाशिवरात्रीका लागि आवश्यक सम्पुर्ण तयारी पुरा

पशुपतिमा महाशिवरात्रीका लागि आवश्यक सम्पुर्ण तयारी पुरा

फागुन १९,काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शनको लागि आवश्यक सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

पशुपतिनाथ दर्शन गर्न आउन भक्तजनको लाइनको व्यवस्था, सुरक्षा, आवास तथा भोजन, प्राथमिक स्वास्थ्य उपचार लगायतका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षाका लागि ६ हजार सुरक्षाकर्मी र भिड व्यवस्थापन गर्न ५ हजार स्वयंसेवक परिचालित हुनेछन् । भिडभाडमा चोरी र लुटपाट हुन सक्ने भन्दै गरगहना नलगाइ मन्दिर दर्शनका लागि आउन पशुपति क्षेत्र विकास कोषले आह्वान गरेको छ ।

पशुपति क्षेत्र वरपर मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ भने प्लाष्टिक निषेध गरिएको छ । यस वर्षको महाशिवरात्री सोमबार परेकाले पनि मानिसको उपस्थिती उच्च हुने भएकाले  विशेष सर्तकता अपनाइएको  ढकालले जानकारी दिए । 

कोषले पशुपति नाथ मन्दिरको चारैतिरबाट दर्शनार्थीको लाइनको व्यवस्था मिलाएको छ । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक/एक गरी दुई वटा लाइनको व्यवस्था व्यवस्था मिलाइएको छ ।

भक्तजनको भीड बढी भएमा तिलगंगा राम मन्दिरतिरबाट समेत अर्को एउटा लाइनको व्यवस्था गरिने सदस्य सचिव ढकालले बताए ।

ज्येष्ठ नागरिक र अशक्तलाई भने लाइनमा नबसी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।