भूकम्प पिडितलाई सहुलियत ब्याजदरमा ऋण

भूकम्प पिडितलाई सहुलियत ब्याजदरमा ऋण
तस्विर सौजन्य : the kathmandu post


चैत १७, काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले नुवाकोटका भूकम्पपीडित एवं कृषि तथा उद्यमशील पेशामा आवद्धलाई ब्याज अनुदानको सहुलियत कर्जा वितरण शुरु गरेको छ । 

बैंकले पहिलो चरणमा नौ जनालाई उक्त कर्जा सम्झौता गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा चन्द्रबहादुर श्रेष्ठले सम्बन्धित ऋणीलाई चेक हस्तान्तरण गरेर सुरुवात गरे । 

सो अवसरमा श्रेष्ठले भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण र कमजोर बनेको आर्थिक अवस्था सुधारमा सरकारले सञ्चालनमा ल्याएका सहयोगका कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसकेकाले त्यसको प्रचारप्रसार तीव्र बनाउनुपर्नेमा जोड दिए । उनले भूकम्पले क्षति पुगेका घरनिर्माणमा रु ३ लाख अनुदानसहित कमजोर वर्गलाई थप रु ५० हजार समेत उपलब्ध गराइएको जानकारी दिएका छन् । 

नुवाकोटमा उक्त सहुलियत कर्जा कार्यक्रम ग्लोबल आइएमई बैंकले पहिलो पटक शुरु गरेकाले तोकिएको मापदण्ड पूरा गर्नेलाई क्रमशः सेवा उपलब्ध गराइने त्रिशूली शाखाका प्रबन्धक गङ्गाबहादुर रोकाले जानकारी दिए। बैंकमार्फत पहिलो पटक भूकम्पले लडेका घर अहिलेसम्म बनाउन नसकेका ६ जनालाई भूकम्पपीडित निजी आवास निर्माण कर्जा, दुई जनालाई कृषि तथा पशुपक्षी कर्जा र १ जनालाई महिला उद्यमशील कर्जा वितरण गरिएको बैंकले जनाएको छ । 

महिला उद्यमशील कर्जामा छ प्रतिशत र अन्यमा पाँच प्रतिशत ब्याज सहुलियत रहेको बैंकले जनाएको छ ।