न्यूनतम ज्याला नपाएको भन्दै चिया मजदूर आन्दोलित

न्यूनतम ज्याला नपाएको भन्दै चिया मजदूर आन्दोलित
झापाको सदरमुकाम चन्द्रगढीमा आइतबार चिया बगान तथा कारखानामा कार्यरत श्रमिकहरुले सरकारले तोकेको न्यूनतम ज्यालाको माग राख्दै निकालिएको विरोध कार्यक्रम । तस्वीरः चन्द्रकला भण्डारी, ९रासस

चैत १७, काठमाडौं । 

पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै आजदेखि चरणबद्ध आन्दोलन शुरु गरेका छन् । 

नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घले संयुक्तरूपमा आर्थिक वर्ष २०७५/७६ को साउनदेखि श्रमिकका लागि तोकिएको न्यूनतम ज्याला पाउनुपर्ने माग राखेर आन्दोलन थालेका हुन् । 

 चिया मजदूर सङ्घले आज सबै चिया प्रतिष्ठानमा अनिश्चितकालीन तालाबन्दीसहित चन्द्रगढीमा विरोधसभा गरेका थिए । गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडिबाट ‘श्रम ऐन लागू गर, राजपत्रमा उल्लेखित न्यूनतम पारिश्रमिक कार्यान्वयन गर’लगायत नारा लेखिएका ब्यानरसहित निकालिएको बिराेध कार्यक्रम जिल्ला प्रशासन कार्यालय हुँदै चन्द्रगढी बजार परिक्रमा गरी ट्रेड युनियन चोकमा आएर कोणसभामा परिणत भएको थियो । 

कोणसभामा नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले चिया बगान र कारखानाका मालिकले नेपाल सरकारको राजपत्रमा उल्लेखित पारिश्रमिक कार्यान्वयनमा चासो नदिएकाले आन्दोलित हुनुपरेको बताएका छन् । सरकारले तोकेको न्यूनतम ज्यालाबमोजिम चिया बगानमा कार्यरत श्रमिकको पारिश्रमिक दैनिक रु २३१ तथा महङ्गी भत्ता रु १५४ पाउनुपर्ने हुन्छ । झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुममका चिया बगान तथा कारखानामा कार्यरत मजदूरले सो ज्याला नपाएपछि चिया मजदूर एकैसाथ आन्दोलित बनेका छन् । 

अखिल नेपाल चिया मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष सीता सापकोटाले कैयौँपटक व्यवसायी र सरकारको ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेको तथा मजदूर र बगान मालिकबीच पटकपटक गरिएको वार्ता र छलफल निष्कर्षविहीन भएपछि बन्द हड्तालमा उत्रनु परेको बताएकी छन्।  झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुममका चिया बगान तथा कारखानामा कार्यरत मजदूर एकैसाथ आन्दोलित बनेका छन् । 

चिया मजदूरहरुले यही चैत १८ गते आफू कार्यरत बगानमा औजारसहित बृहत् जुलुश प्रदर्शन गर्ने, १९ गते विर्तामोडमा तथा २१ गते काँकडभिट्टामा विरोधसभा गर्ने कार्यक्रम रहेको मजदूर नेता दीपक तामाङले जानकारी दिएका छन् ।