त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
तस्विर सौजन्य : the kathmandu post

चैत १७, काठमाडौं । 

 मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । 

दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ । 

मर्मतको अवधि अर्थात १अप्रिल २०१९ देखि जुन ३० सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ । 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनः सुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । 

विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महीना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । विमानस्थल मर्मत अवधिमा नियमित उडानमा भने कुनै कटौती नहुने बताए। 

 मर्मतका लागि सम्बन्धित ठकेदार कम्पनीले आवश्यक जनशक्ति र उपकरणका साथ पूर्व सम्भावित जोखिम व्यवस्थापनको तयारीसमेत गरेको निर्देशक पौडेलले बताए । पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेशिनका साथमा राति धावनमार्ग बनाइनेछ । 

लामो समयदेखि धावनमार्गको कालोपत्र उक्कदा पटकपटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना बनाएको हो ।  देशकै ऐनाका रूपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको क्यानले जनाएको छ । 

धावनमार्ग स्तरोन्नतिका लागि गत नोभेम्बर महीनामा क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो । चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड लागतमा धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएको थियो । सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको थिएन । 

सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन शुरु भएको थियो । त्यसपछि २४ सै घण्टा द्रुत उद्धार टोली बनाएर सतर्क अवस्थामा राखियो । धावनमार्गमा केही समस्या आएमा छोटो समयमै मर्मत गरिँदै आएको छ ।

 प्राधिकरणको प्रतिवेदनअनुसार देशभरका ५६ विमानस्थलमध्ये ३३ सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये ३१ विमानस्थलमा कालोपत्रे गरिएको छ ।