सामाजिक सञ्जाल नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन : सञ्चारमन्त्री

सामाजिक सञ्जाल नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन : सञ्चारमन्त्री
तस्विर सौजन्य : Canadanepal

चैत १८, काठमाडौँ  

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी भइरहेका बताएका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल ९फेसबुक, ट्वीटर, इमो, भाइबर, स्काइप, ह्वाट्सएपलगायतलाई करको दायरामा ल्याउने उद्देश्यले ऐन ल्याउन लागिएको प्रष्ट पारे ।

मन्त्री बाँस्कोटाले भने,“सूचना प्रविधिको प्रयोग गरेर हुने नकारात्मक गतिविधि रोक्नका लागि पनि यो ऐन ल्याउन लागिएको हो, तर सरकारले सामाजिक सञ्जाल बन्द गर्न खोज्यो भनेर गलत प्रचारप्रसार गरिएको छ, म त्यसो नगर्न आग्रह गर्दछु ।” 

साइबर अपराधमा सबैभन्दा बढी महिला पीडित हुनुपरेको बताउँदै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालबाट हुने सबै प्रकृतिका अपराध नियन्त्रण गर्नका लागि पनि कानून जरुरी रहेको बताए ।