टिप्परले ठक्कर दिदा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु

टिप्परले ठक्कर दिदा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु

चैत १९, बुटवल । 
टिपरको ठक्करबाट सोमबार बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डोलराज अर्यालको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगर स्थित बुटवल धागो कारखाना नजिकै साँझ सवा सात बजे ठक्कर दिदा भएको दुर्घटनामा देवदह नगरपालीका वडा नं. ४ निवासी बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डोलराज अर्यालको मृत्यु भएको हो।

देवदह नगरपालिका खैरेनिबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २२३२ नम्बरको टिपरले बुटवलबाट देवदहतर्फ जाँदै गरेको लु २२ प ४९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार प्राध्यापक अर्यालको मृत्यु भएको हो।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार टिपरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका अर्यालको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजादै  गर्दा मृत्यु भएको हो।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ५० वर्षीय अर्यालले बुटवल बहुमुखी क्याम्पसमा स्वास्थ्य तथा जनसंख्या  अध्यापन गराउदै आएका थिए।