पूर्वराजा ज्ञानेन्द्रको पछुवा कारले ठक्‍कर दिदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

पूर्वराजा ज्ञानेन्द्रको पछुवा कारले ठक्‍कर दिदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

चैत २८, काठमाडौं । 
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको कारले मोरङमा मोटरसाइकललाई ठक्‍कर  दिँदा एक युवाको मृत्यु भएको छ भने अर्का युवा गम्भीर घाइते भएका छन्। 

पूर्व राजाको सुरक्षाका लागि सादा पोशाकमा खटिने सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको बा ३ च ७९६२ नम्बरको पछुवा कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई बुधबार बेलुका ठक्‍कर दिएको प्रहरीले बताएको छ। 

मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका-९ का २२ वर्षीय हेम चौधरीको उपचारका क्रममा विराटनगरको नोबेल मेडिकल कलेजमा राति ९ बजे मृत्यु भएको हो। मोटसाइकल चालक २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते भएका छन्। उनलाई नोबेलबाट थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिएको छ। 

केही दिनदेखि पूर्व क्षेत्रको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल समेतको टोलीलाई विराटनगर विमानस्थलसम्ममा छाडेपछि झापाको दमकतर्फ फर्कने क्रममा मोटरसाइकललाई ठक्‍कर दिएको हो। 

दुर्घटनामा मोटरसाइकलसँगै ठक्कर दिने कारको अगाडि र साइडको भागमा पनि क्षति पुगेको छ। दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।