३५ लाख बढी अवैध विदेशी मुद्रा सहित २ पोल्यान्डेली नागरिक पक्राउ

३५ लाख बढी अवैध विदेशी मुद्रा सहित २ पोल्यान्डेली नागरिक पक्राउ
तस्विर सौजन्य : Khabarhub

बैशाख ३, काठमाडौं । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पोल्याण्डेली नागरिक अवैध मुद्रासहित पक्राउ परेका छन् ।

अवैध रुपमा लैजान लागिएको अमेरिकी डलर, युरो र नेपाली रुपैयाँसहित २ पोल्याण्डेली नागरिक पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट ३५ लाख २२ हजार ८ सय ९७ रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरेको छ ।

पक्राउ पर्नेमा पोल्याण्ड नागरिक २८ वर्षीय माक्सी मिलीकन बेग्लोस्की  र २६ वर्षीय  आकुभ स्टेक्की रहेका छन् । कतार एयरको फ्लाइट नम्बर क्यूआर ६४५ मार्फत काठमाडौंबाट कतारको दोहा जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फको होलब्यागेज जाँच गर्ने क्रममा माक्सीको साथबाट युएस डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय तथा नेपाली रुपैयाँ ५८ हजार र आकुभको साथबाट युएस डलर ६ हजार १ सय र युरो ५ हजार फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि उक्त मुद्रा सहित राजश्व विभाग हरिहर भवन पुलचोक पठाइएको  नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।