बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

बैशाख ४, काठमाडाैं । 

नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक तथा बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको बुधबार निधन भएको छ।

झण्डै पाँच महिना अघि नाकमा समस्या आएपछि श्रेष्ठको बल्खुस्थित बयोधा अस्पतालमा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया पछि निरन्तर उपचाररत श्रेष्ठको उपचारकै क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा  निधन भएकाे हाे ।

केही दिनको उपचारका क्रममा चिकित्सकहरुले श्रेष्ठलाई Guillain-Barre syndrome (GBS) virus को संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो । मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेर भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको थियो ।

यसरी उनको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उनमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि पुनः नेपाल मेडिसिटी अस्पताल लगि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । सघन उपचार कक्षमा उपचार हुँदै आए पनि उनको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्था पुगेपछि फेरि नर्भिक लगिएको थियो ।

स्वर्गीय श्रेष्ठको पार्थिव शरीर आज दिउँसो ३ बजेसम्म भूगोलपार्कमा राखिने छ । उनको पार्थिव शरीर दिउँसो ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि लगिने परिवार स्रोतले जानकारी दिएको छ।